यसरी मनाइयो जेनजी शहीद स्मृति दिवस (फोटोफिचर)
वि.सं.२०८३ भदौ २३ मंगलवार १५:१२
shares

काठमाडौँ । गतवर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउने शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ। यसै अवसरमा काठमाडौँको बानेश्वरमा जेनजी शहीद स्मृति दिवस कार्यक्रम आयोजना गरिएको छ।
जेनजी शहीद कल्याणकारी समाजको आयोजनामा भएको कार्यक्रम गृहमन्त्री सुधन गुरुङले उद्घाटन गरेका छन्। आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा शहीदहरूको योगदानको स्मरण गर्दै कार्यक्रम आयोजना गरिएको हो।
गतवर्षको जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, पर्यटन मन्त्री खडक राज पौडेल (गनेस), विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, स्वास्थ्य तथा खाद्यस्वच्छता मन्त्री निशा मेहता, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीलगायतको सहभागिता रहेको छ।
कार्यक्रममा जेनजी आन्दोलनका शहीद परिवार तथा अन्य सहभागीले पनि उपस्थिति जनाएका छन्। स्मृति दिवसका अवसरमा शहीदहरूको योगदानको सम्मान गर्दै उनीहरूले उठाएका मुद्दा र अपेक्षालाई स्मरण गरिएको छ।


















