शिक्षक महासङ्घले अघि सार्यो ७ बुँदे माग, सम्बोधन नभए निर्णायक आन्दोलन गर्ने चेतावनी
वि.सं.२०८३ मंसिर १३ आइतवार १७:०४
shares

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले विगतका सहमति कार्यान्वयन र शिक्षक–कर्मचारीका माग सम्बोधन नभए कडा तथा निर्णायक आन्दोलनमा जाने चेतावनी दिएको छ ।
महासङ्घले आइतबार विज्ञप्ति जारी गर्दै सरकार र शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको हो । विगतमा सहमति भए पनि कार्यान्वयन नहुँदा शिक्षक–कर्मचारीले लामो समयदेखि उही मागका लागि संघर्ष गर्नुपरेको महासङ्घले जनाएको छ ।
महासङ्घले पुरानै प्रणालीअनुसार पेन्सन, अस्थायी सेवा अवधि गणना, दुर्गम तथा स्थानीय भत्ता, विद्यालय कर्मचारी र ईसीडी शिक्षकको दरबन्दी तथा तलब सुविधा सुनिश्चित गर्न माग गरेको छ ।
त्यस्तै, विगतका सहमति समेटेर विद्यालय शिक्षा ऐन जारी गर्न, ५४ सूत्रीय माग सम्बोधन गर्न र महासङ्घको विधान स्वीकृत गर्नुपर्ने माग अघि सारेको छ । माग सम्बोधन नभए निर्णायक आन्दोलनमा जाने महासङ्घले चेतावनी दिएको छ ।


















