चार महिनामा २० अर्बभन्दा बढीको बिजुली निर्यात
वि.सं.२०८३ मंसिर १३ आइतवार १२:२३
759
shares
shares

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको बिजुली निर्यात गरेको छ ।
साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त २ अर्ब ३८ करोड ८७ लाख युनिट बिजुली भारत र बङ्गलादेशमा निर्यात गरिएको प्राधिकरणले जनाएको छ । उक्त अवधिमा बिजुलीको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ ।
कात्तिकमा मात्रै ५२ करोड ९३ लाख युनिट बिजुली निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीले विद्युत् उत्पादन र प्रसारण संरचनामा क्षति पुर्याउँदा केही आयोजनाको उत्पादन बन्द भएकाले यस वर्ष निर्यात प्रभावित भएको हो ।

















