NIMB Long Banner Ad

जेन्जी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुँदैनौँ – रवि लामिछाने

2.52K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन्जी आन्दोलनले उठाएका नागरिक अधिकार, सुशासन, विधिको शासन र भ्रष्टाचारमुक्त समाज निर्माणको मुद्दाबाट आफूहरू पछि नहट्ने बताउनु भएको छ।

जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा लामिछानेले जारी गरेको सन्देशमा उनले आन्दोलनका क्रममा ज्यान गुमाउने युवा तथा कर्तव्य पालनका क्रममा मृत्यु भएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिको उपचार, परिवारको हेरचाह र दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्ने बताउनुभएको छ ।

लामिछानेले जेन्जी आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई स्वस्फूर्त रूपमा भएको उल्लेख गर्दै त्यसलाई कुनै दल वा नेताले आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने धारणा राख्नुभएको छ ।

उहाँका अनुसार आन्दोलनमा युवाहरूको सहभागिता परम्परागत राजनीतिक शैलीप्रतिको असन्तुष्टिको स्पष्ट संकेत थियो। डिजिटल युगमा हुर्किएको नयाँ पुस्ताले देशभित्रै अवसर र भविष्य खोज्दै कुशासनविरुद्ध आवाज उठाएको उनले बताएका छन्।

आफ्नो पार्टी र नेतृत्वप्रति पनि निरन्तर रचनात्मक खबरदारी तथा निर्मम समीक्षा आवश्यक रहेको बताउँदै लामिछानेले नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदल्नुपर्नेमा जोड दिनुभएको छ।

उनले जेन्जी आन्दोलनले देखाएको बाटोबाट रास्वपा विचलित नहुने प्रतिबद्धता व्यक्त गर्दै विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गमा दृढतापूर्वक अघि बढ्ने बताउनु भएको छ।