NIMB Long Banner Ad

दक्षिण कोरियाको अर्थतन्त्र दोस्रो त्रैमासिकमा ०.६ प्रतिशतले बढ्यो

949
shares

सियोल । दक्षिण कोरियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) चालु वर्षको दोस्रो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ०.६ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाईमा गरिएको प्रारम्भिक अनुमानकै स्तरमा आर्थिक वृद्धि कायम रहेको हो ।

पहिलो त्रैमासिकमा अर्थतन्त्र १.८ प्रतिशतले विस्तार भएको थियो । दोस्रो त्रैमासिकमा पनि निर्यातमा भएको सुधारले आर्थिक वृद्धिलाई टेवा दिएको छ । अप्रिलदेखि जुनसम्म निर्यात १.३ प्रतिशतले बढेको छ ।

अर्धचालक, मेसिनरी तथा उपकरणको माग बढेपछि निर्यातमा सुधार आएको हो । सोही अवधिमा आयात ०.७ प्रतिशत र निजी उपभोग ०.४ प्रतिशतले बढेको छ । अनुसन्धान तथा विकास र सफ्टवेयर क्षेत्रमा लगानी बढ्दा बौद्धिक सम्पत्तिमा लगानी ३.४ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, मेसिनरी तथा औद्योगिक उपकरणमा लगानी ०.२ प्रतिशतले बढेको छ भने निर्माण तथा पूर्वाधार आयोजनामा सुस्तता आएपछि निर्माण क्षेत्रमा लगानी ०.१ प्रतिशतले घटेको छ ।

दोस्रो त्रैमासिकमा नाममात्रको जीडीपी अघिल्लो त्रैमासिकको तुलनामा ९.२ प्रतिशतले बढेको छ । वार्षिक आधारमा भने यो वृद्धि २६.४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।