NIMB Long Banner Ad

यी हुन् दसैँमा दर्शन गर्न सकिने चर्चित शक्तिपीठ र देवी मन्दिरहरु

चाडपर्वको समयमा साधकहरू मन्दिरमा पुगेर दर्शन र पूजाआजा गर्न अनिवार्य मान्दछन् । धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू पनि प्रशस्त भेटिन्छन् । विशेषगरी वडादशैँका बेला यस्ता मन्दिरहरूमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ । नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, जहाँ विजयादशमीका बेला हर्षोल्लासका साथ पूजाआजा हुने गर्दछ ।

483
shares

हिन्दु धर्मावलम्वीहरुको प्रमुख चाड दसैँमा विभिन्न शक्तिपीठहरुमा धूमधामले पूजा गर्ने गरिन्छ । मनोआकांक्षा पूरा हुने विष्वासका साथ दसैँको अवधिभरी नै फरक फरक देवीको पूजाआजा गर्ने गरिन्छ । यी दिनहरुमा शैलीपुत्री, ब्रह्मचारीणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायानी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा हने गर्दछ । दसैँमा शक्ति पीठमा गई पूजा तथा आराधना गर्नाले शक्ति तथा संवृद्धि प्राप्त हुने धर्म ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपीठहरुमा दसैँ अवधिभर नै भक्तजनहरूको भीड लाग्ने गर्दछ ।

तलेजु भवानीको मन्दिर

दसैँको नवरात्रमा भक्तजनको भीड लाग्ने केही देवी मन्दिरहरु मध्येको मन्दिर हो काठमाडौँको हनुमान ढोका अवस्थित तलेजु भवानीको मन्दिर । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । प्यागोडा शैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्छन् ।
दक्षिणकाली मन्दिर

काठमाडौँको फर्पिङमा रहेको दक्षिणकाली मन्दिर राजा प्रताप मल्लले निर्माण गरेका हुन् । दुई नदीको दोभानमा रहेको दक्षिणाकालीमा दसैँको नवरात्रमा बलि चढ्छ । किंवदन्ती अनुसार दक्ष प्रजापतिका ३३ कोटी कन्यामध्ये दक्षिणकाली एक हुन् । फर्पिङ काठमाडौँ उपत्यकाको दक्षिणमा अवस्थित एक ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपले महत्त्वपूर्ण प्राचीन सहर हो। यो काठमाडौँ केन्द्रबाट करिब १८–२० किलोमिटर दक्षिणमा दक्षिणकाली जाने बाटोमा पर्दछ। बौद्ध धर्म र हिन्दू धर्मको सुन्दर सङ्गम रहेको यो क्षेत्र प्राकृतिक सुन्दरता र शान्त वातावरणका लागि निकै प्रसिद्ध छ।

नक्साल भगवती

यस्तै काठमाडौं उपत्यकाका प्रसिद्ध शक्ति पीठ मध्येको एक हो नक्साल भगवती । यस मन्दिरमा सोह्र भुजायुक्त देवीको मूर्ति रहेको छ । भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठुलो आस्था रहेको पाइन्छ ।

कालिञ्चोक भगवती

दोलखामा अवस्थित कालिञ्चोक भगवतीको मन्दिर धार्मिक र पर्यटकीय दृष्टिकोणले चर्चित छ । मनले चिताएको पूरा हुने विश्वासका साथ भक्तजन त्यहाँ पुग्ने गर्दछन् । तीन हजार ८४२ मिटर उचाइमा रहेको मन्दिरमा जान अचेल केबुलकारको पनि सुविधा छ ।

भद्रकाली मन्दिर

दशैंंमा आर्शिवाद दिदा भन्ने गरिएको श्लोकमा उच्चारित देवी दुर्गाको एक रूप भद्रकाली हो । काठमाडौंको माइतीघर र सुन्धाराको मध्यमा रहेको भद्रकाली मन्दिरमा नवरात्रमा विशेष पूजा हुने गर्दछ । जसले गर्दा भद्रकाली मन्दिरमा नवरात्रीको समय दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्दछ ।

मनकामना मन्दिर

गोरखाको मनकामना मन्दिर पनि महत्त्वपूर्ण शक्ति पीठको रूपमा लिइन्छ । दसैँका साथै अन्य दिनमा पनि पूजा गर्न आउनेको यहाँ ठुलो भिड लाग्छ । हरेक दसैँको अष्टमीमा बलिसमेत चढाउने गरिन्छ । दसैँको समयमा विशेष मेला र पूजाआजा हुने मनकामना मन्दिर परिसरमा १५ वटाभन्दा बढी देवीदेवताका मन्दिर छन् । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो ।

पलाञ्चोक भगवती

पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लाको साठीघर भगवती गाविसमा अवस्थित छ । दशैंमा विशेष मेला लाग्ने यस मन्दिरमा घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमाका दिन सम्म नै भक्तजनहरूको भिड लाग्ने गर्छ ।
बागेश्वरी मन्दिर

बाँकेको नेपालगञ्जमा अवस्थित चर्चित बागेश्वरी मन्दिरमा दशैंको नौं दिन नै विशेष पूजाआजा हुने गर्दछ । नवरात्रको अवसरमा बागेश्वरीमा आइ व्रतबन्ध विवाह जस्ता संस्कार गर्न मुहूर्त जुराइरहनु पर्दैन भन्ने विश्वास छ । त्यसैले पनि प्रतिपदाको दिनदेखि नै यहाँ विभिन्न संस्कार गर्न आउनेहरूको भीड लाग्छ । यहाँ नौ दिनसम्म मेला लाग्ने गर्छ ।
चन्द्रघण्टा दुर्गा मन्दिर

कपिलवस्तुको तौलिहवास्थित चन्द्रघण्टा दुर्गा मन्दिरमा दशैंभर यहाँ भक्तजनहरूको ठुलो भिड लाग्ने गर्छ । यस मन्दिरमा आश्विन शुक्ल सप्तमीका दिन स्थानीयले धुमधामका साथ फूलपाती भित्र्याउने गर्छन् ।
गोरखकाली मन्दिर

बडादशैँमा विशेष महत्वका साथ पूजा–आरधना गरिने गोरखाको गोरखकाली मन्दिरको आफ्नै विशेषता छ । गोरखा दरबारस्थित मन्दिर दशैँघरमा घटस्थापनाको दिन बिहान सबेरै दुर्गा भगवतीको प्रतिमालाई दियो, कलश र नगराबाजा कैलाश कोठाबाट पूजा कोठामा स्थानान्तरण गरी देउता सार्ने प्रचलन छ । सोही अवसरमा हर्षबढाइँ गरी दशैँ प्रारम्भ भएको घोषणासमेत गरिन्छ । गोरखा दरबारसँगै रहेको मन्दिरमा वर्षौंअघि देखि बडादशैँका अवसरमा विशेष पूजाआजा हुने गरेको छ ।

दोलखा भीमेश्वर मन्दिर

दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । किरातकालमा नै स्थापना भएको यस मन्दिरमा देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतका रूपमा पसिना आउने गर्दछ । मन्दिरमा नित्य पूजाबाहेक भीम एकादशी, बालाचतुर्दशी, चैतेदशैँ बडादशैँमा मेला लाग्ने गर्दछ । यो सँगै काभ्रेको बनेपामा रहेको चण्डेश्वरी मन्दिर, डोटी जिल्लाअन्तर्गत सिलगढीमा अवस्थित शैलेश्वरी मन्दिर, सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा रहेको दन्त काली मन्दिर, पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा देवीको मन्दिरमा पनि नवरात्रको अवसरमा भक्तजनहरूको भीड लाग्ने गरेको पाइन्छ ।

✍️लेखक कलानिधी धर्म,ज्योतिष र मनोविज्ञानको क्षेत्रमा अनुसन्धानरत हुनुहुन्छ।