पत्रकार पक्राउ प्रकरणमा सरकारविरुद्ध कांग्रेसको सशक्त प्रतिवाद गर्ने गगनको चेतावनी
वि.सं.२०८३ कात्तिक १५ आइतवार १५:२७
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतन्त्रमाथि सरकारले सीमा नाघेको भन्दै कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
सानेपास्थित पार्टी मुख्यालयमा विशेष सम्बोधन गर्दै थापाले समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रवेश गरेर पत्रकार पक्राउ गर्नु शाही शासनकालको झल्को भएको बताए ।
उनले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र प्रहरीको गतिविधि शङ्कास्पद देखिएको टिप्पणी गरे । प्रधानमन्त्रीको सचिवालयबाट २८ जना पत्रकारको सूची बनाएर प्रहरीलाई पठाइएको विषय बाहिर आएको भन्दै उनले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए ।
पत्रकार पक्राउ परेर रिहा हुँदैमा घटना समाप्त नहुने उल्लेख गर्दै थापाले राज्यका निकायको स्वेच्छाचारी प्रयोग र सामाजिक सञ्जालको प्रतिक्रियाका आधारमा सरकार सञ्चालन गर्ने प्रवृत्तिको कांग्रेसले सशक्त प्रतिवाद गर्ने बताए ।














