प्रा.डा.संस्कृतिविद् वीणा पौड्याललाई ‘दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार-२०८३´ प्रदान गरिने
वि.सं.२०८३ कात्तिक १४ शनिवार २१:५३
shares

कार्तिक १४ काठमाडौं । प्रा.डा.संस्कृतिविद् वीणा पौड्याललाई ‘दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार-२०८३’ प्रदान गरिने भएको छ ।
दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र, काठमाडौँले २०८३ सालको ‘दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार’ प्रा.डा. वीणा पौड्याललाई अर्पण गर्ने निर्णय गरेको हो ।
मौलिक संस्कृति, धार्मिक परम्परा, ऐतिहासिक सम्पदा र कलाको अध्ययन तथा अनुसन्धानमूलक पुस्तक-ग्रन्थका माध्यमबाट पुऱ्याएको विशिष्ट योगदानको कदर गर्दै पौड्याललाई पुरस्कार प्रदान गर्न लागिएको हो ।कात्तिक १३ गते बसेको स्मृतिकेन्द्रको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो।
गोरखाका नामित प्रतिभा दण्डपाणि र उनकी धर्मपत्नी नन्दकुमारी अर्ज्यालको नाममा २०६३ सालमा स्थापित यो पुरस्कार आगामी कात्तिक २४ गते काठमाडौंमा आयोजना गरिने प्रतिभा सम्मान समारोहमा प्रदान गरिने भएको छ ।
पुरस्कारको राशि ५० हजार रुपैयाँ नगद र सम्मानपत्र रहेको छ। स्मृतिकेन्द्रका महासचिव कपिल चन्द्र खनालले कात्तिक १४ गते प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयबारे जानकारी दिनुभएको हो ।
देशको संस्कृति, कला, दर्शन, इतिहास, भाषा र साहित्यजस्ता राष्ट्रिय महत्त्वका क्षेत्रमा अतुलनीय योगदान पुऱ्याउने राष्ट्रिय प्रतिभाहरूलाई केन्द्रले स्थापनाकालदेखि नै निरन्तर सम्मान गर्दै आएको छ।


















