NIMB Long Banner Ad

लोकसङ्गीत संरक्षणको यात्रा समेटिएको ‘वी विल राइज अगेन’ प्रदर्शन

338
shares

काठमाडौँ। नेपाली लोकबाजा, लोकसङ्गीत र लोकसंस्कृतिको संरक्षणका लागि हुँदै आएको प्रयासलाई समेटिएको ‘वी विल राइज अगेन’ नामक वृत्तचित्र प्रदर्शन गरिएको छ।

नेपाली लोक बाजा सङ्ग्रहालयले निर्माण गरेको वृत्तचित्रमा सङ्ग्रहालयको ३१ वर्षे यात्रा, विभिन्न स्थानबाट लोकबाजा तथा लोकभाका सङ्कलन, अनुसन्धान र सांस्कृतिक सामग्रीको अभिलेखीकरणका कामलाई समेटिएको छ।

सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले निर्देशन गर्नुभएको वृत्तचित्रले बाढी, पहिरोलगायत विपद्का कारण मौलिक संस्कृति र सम्पदा नष्ट हुन सक्ने अवस्थालाई समेत उठान गरेको छ। प्रविधिको प्रयोगमार्फत यस्ता सांस्कृतिक सामग्रीको अभिलेख तयार गरी भावी पुस्ताका लागि सुरक्षित राख्न सकिने सन्देश वृत्तचित्रले दिएको छ।

सङ्ग्रहालयले लोकबाजा, लोकगीत तथा लोकनृत्यको प्रशिक्षण, पुराना श्रव्यदृश्य सामग्रीको डिजिटलाइजेसन तथा आर्काइभिङसँगै संगीत र संस्कृतिसम्बन्धी पुस्तक सङ्कलन तथा प्रदर्शन गर्दै आएको जानकारी कार्यक्रममा दिइएको थियो।

वृत्तचित्र अवलोकनपछि सहभागीहरूले यसलाई नेपाली लोकसङ्गीत र संस्कृतिको अध्ययन तथा अनुसन्धानका लागि उपयोगी सामग्रीका रूपमा लिन सकिने बताए। पुराना श्रव्यदृश्य सामग्रीलाई प्राविधिक रूपमा सुधार गरी व्यवस्थित ढङ्गले संरक्षण गर्नुपर्नेमा पनि उनीहरूले जोड दिनुभयो।