पृथ्वी राजमार्ग अवरुद्ध हुँदा नयाँ बसपार्कमै रोकिए सवारीसाधन
वि.सं.२०८३ असोज २४ शनिवार १२:०९
644
shares
shares

काठमाडौँ, असोज २४ गते । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन्। वैकल्पिक मार्ग कान्तिलोकपथमा समेत सवारी चाप बढेपछि बसपार्कबाट बाहिरिने सवारीसाधनलाई त्यहीँ रोकिएको हो।
सवारीसाधन रोकिँदा दसैँ मनाउन घर फर्किन लागेका यात्रु मर्कामा परेका छन्। अग्रिम टिकट लिएर बसपार्क पुगेका यात्रुसमेत यात्रा अनिश्चित भएपछि अन्योलमा परेका छन्।
दसैँ नजिकिँदै गर्दा यात्रुको चाप बढेको समयमा राजमार्ग अवरुद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी थप समस्यामा परेका छन्। सडक मर्मत गरी यातायात सञ्चालन सहज नबनाएसम्म काठमाडौँबाट बाहिरिने सवारीसाधनको आवागमन प्रभावित हुने देखिएको छ।














