आज सोह्रश्राद्ध समापन, आइतबार मातामह श्राद्ध
वि.सं.२०८३ असोज २४ शनिवार ११:३६
shares

काठमाडौँ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज आश्विन कृष्ण औँसीका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।
पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी १६ दिनसम्म श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिन आमाको बुबाको नाममा गरिने मातामह श्राद्ध भने आइतबार गरिनेछ।
कुनै कारणवश पितृ पक्षका निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएमा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिने शास्त्रीय व्यवस्था रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो।
त्यस अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन वा अन्य शास्त्रीय विकल्पअनुसार श्राद्ध गर्न सकिने नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो।
पितृ पक्षको अन्तिम दिन गोकर्णेश्वर उत्तरगया, बेत्रावती, देवघाट र त्रिवेणीलगायत तीर्थस्थलमा पितृप्रति श्रद्धा व्यक्त गर्दै श्राद्ध गर्नेको भीड लाग्ने गर्छ। पितृ पक्षको समापनसँगै असोज २५ गते घटस्थापनाबाट दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुँदैछ।














