अन्तरदेशीय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक – गृहमन्त्री गुरुङ
वि.सं.२०८३ असोज २८ बुधवार १८:१९
shares

काठमाडौँ, असोज २८ गते । गृहमन्त्री सुदन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्य तथा सूचना आदानप्रदानमा जोड दिनुभएको छ।
भारतमा सम्पन्न पहिलो बिम्स्टेक गृहमन्त्रीस्तरीय बैठकपछि उहाँले अन्तरदेशीय अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रबीच समन्वय र प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको बताउनुभएको हो।
गृहमन्त्री गुरुङले प्राकृतिक विपद् व्यवस्थापनका लागि क्षेत्रीय पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्ने प्रस्ताव नेपालले अघि सारेको जानकारी दिनुभयो।
बैठकका क्रममा भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय सुरक्षा, नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा भोगेका चुनौती र भारतमा रहेका नेपालीका समस्याबारे पनि छलफल भएको उहाँले बताउनुभयो। ती विषय समाधानका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता भारतीय पक्षबाट प्राप्त भएको उहाँको भनाइ छ।














