NIMB Long Banner Ad

तीन महिनामै मुस्ताङ भन्सारले उठायो ११ अर्ब ४५ करोड राजस्व

621
shares

मुस्ताङ । चीनसँगको कोरला नाका हुँदै हुने आयात व्यापार बढेसँगै मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामै ११ अर्ब ४५ करोड ७४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

साउनदेखि कात्तिक १३ गतेसम्म चीनबाट २६ अर्ब १ करोड ३२ लाख रुपैयाँ बराबरका सामान आयात हुँदा २८ करोड ६३ लाख ५६ हजार रुपैयाँ बराबरका नेपाली सामान निर्यात भएका छन् ।

भन्सार कार्यालयका सूचना अधिकारी अबिन्द्र सिंहका अनुसार कोरला नाकाबाट ६ हजार ५०१ वटा विद्युतीय सवारीसाधन (ईभी)भित्रिएका छन् । राजस्व सङ्कलनमा ईभीको योगदान सबैभन्दा बढी रहेको छ ।

चालु आर्थिक वर्षमा कार्यालयलाई नौ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएकोमा तीन महिनामै लक्ष्यभन्दा दुई अर्ब ४५ करोड ७४ लाख रुपैयाँ बढी राजस्व उठेको हो । यो निर्धारित लक्ष्यभन्दा २७ दशमलव ३० प्रतिशत बढी हो ।

रसुवाको टिमुरेस्थित भन्सार कार्यालय र तातोपानी नाका बाढीका कारण सञ्चालनमा आउन नसक्दा कोरला नाकाबाट आयात बढेको सूचना अधिकारी सिंहले बताउनुभयो ।

कोरला नाकाबाट ईभी, विद्युतीय उपकरण, लत्ताकपडा, खाद्यान्न, फलफूल तथा घरायसी सामग्री आयात हुने गरेको छ । नेपालबाट भने हस्तकला सामग्री र कपडा निर्यात हुने गरेका छन् ।