भोटेकोशी बाढीका शव पहिचानको प्रयास : परासी अस्पतालमा ११४ शव तथा मानव अङ्गको डीएनए नमुना संकलन
वि.सं.२०८३ भदौ १८ बिहीवार ०४:४७
shares

पश्चिम नवलपरासी। भोटेकोशी बाढीमा परी बगेर नारायणी नदीको गण्डक क्षेत्रमा फेला परेका शव पहिचान गर्ने प्रक्रिया तीव्र पारिएको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखिएका सबै शव तथा मानव अङ्गको डीएनए नमुना संकलन गरिएको छ ।
शव थुप्रिँदा अस्पताल परिसरमा दुर्गन्ध फैलिएको थियो । जनशक्ति अभावका कारण डीएनए नमुना संकलनमा ढिलाइ भएपछि थप जनशक्ति परिचालन गरेर नमुना संकलन गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। बृजकुमार यादवका अनुसार स्वास्थ्यकर्मीसहित २० जनाको टोलीले ११४ वटा शव तथा मानव अङ्गको डीएनए नमुना संकलन गरेको हो ।
संकलन गरिएका नमुनामा २४ महिला, ४८ पुरुष, सात बालबालिका र ३१ वटा मानव अङ्ग रहेका छन् । त्यस्तै चारवटा शवको लिङ्गसमेत पहिचान हुन सकेको छैन ।
थप शव आए पनि डीएनए नमुना लिइने
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन थापाका अनुसार बुधबार साँझसम्म अस्पतालमा प्राप्त भएका शवको डीएनए नमुना संकलन गरेर व्यवस्थापन गरिएको छ ।
तर नारायणी नदीको गण्डक क्षेत्रमा थप शव फेला पर्ने क्रम नरोकिएकाले आगामी दिनमा पनि नमुना संकलनको काम जारी रहनेछ ।
“हाल प्राप्त शवको डीएनए नमुना संकलन गरी व्यवस्थापन गरिएको छ । थप शव प्राप्त हुने क्रम जारी रहेकाले बाँकी शवको पनि नमुना संकलन गरी व्यवस्थापन गरिनेछ,” थापाले भन्नुभयो ।
गण्डक क्षेत्रमा २०८ शव फेला
भोटेकोशी बाढीपछि हालसम्म नारायणी नदीको गण्डक क्षेत्रमा २०८ वटा शव फेला परिसकेका छन् । तीमध्ये भारतबाट ल्याइएका १८ शवसमेत छन् ।
प्रहरीका अनुसार हालसम्म पाँच शवको मात्रै सनाखत भएको छ भने १४५ वटा शव व्यवस्थापन गरिसकिएको छ ।
सनाखत हुन नसकेका शवको पहिचानका लागि संकलन गरिएको डीएनए नमुना महत्वपूर्ण आधार बन्नेछ । परिवारका सदस्यबाट लिइने डीएनए नमुनासँग मिलान गरेर शव पहिचान गर्ने प्रक्रिया अघि बढाइनेछ ।
रुपन्देही र कपिलवस्तुका अस्पतालमा रहेका शवको समेत क्रमशः व्यवस्थापन गरिने प्रहरीले जनाएको छ ।
पश्चिम नवलपरासीमा शव व्यवस्थापनका लागि सुनवल नगरपालिका–२ स्थित मूलपानी सामुदायिक वन र बर्दघाट नगरपालिका–२ स्थित चिसापानी सामुदायिक वन क्षेत्र प्रयोग हुँदै आएको छ ।
बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले आफन्तको अवस्थाबारे अझै यकिन जानकारी पाउन नसकेको अवस्थामा डीएनए परीक्षणमार्फत शवको पहिचान गर्ने प्रक्रिया पीडित परिवारका लागि आफन्तको अवस्थाबारे सत्यतथ्य पत्ता लगाउने महत्वपूर्ण माध्यम बनेको छ ।
















