NIMB Long Banner Ad

जलवायु संकटबारे न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ जलवायु कार्यक्रम, नेपालले अघि सार्‍यो पाँच प्रस्ताव

1.82K
shares

न्युयोर्क, असोज १० गते । जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन नेपालले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ विशेष कार्यक्रम आयोजना गरेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा आयोजित कार्यक्रममा नेपालसहित संयुक्त राष्ट्रसंघ र विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा भोटेकोसी बाढीको भिडियोसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले हिमाल, नदी, समुद्र तथा तटीय र द्वीपीय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले परस्पर जोडिएको भन्दै साझा जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

उहाँले जलवायु संकट सम्बोधनका लागि पाँच प्रस्ताव अघि सार्नुभयो । विज्ञान, नीति र लगानीमा हिमाल, ताजा पानी र महासागरबीचको सम्बन्धलाई समेट्नुपर्ने, जलवायु प्रक्रियामा हिमाललाई प्राथमिकता दिनुपर्ने तथा १।५ डिग्री सेल्सियसको तापक्रम वृद्धि सीमित गर्ने लक्ष्यअनुसार उत्सर्जन कटौती तीव्र बनाउनुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै, प्रारम्भिक चेतावनी प्रणाली, उत्थानशील पूर्वाधार र वैज्ञानिक सहकार्य सुदृढ गर्न तथा विकासशील मुलुकका लागि पर्याप्त र सहज जलवायु वित्त, प्रविधि र क्षमता उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री खनालले पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको करिब एकतिहाइ हिस्सा गुमाइसकेको उल्लेख गर्दै हिमनदीको ह्रासले नदीको बहावदेखि तटीय क्षेत्रसम्म असर पारिरहेको बताउनुभयो ।

नेपालले सन् २०२५ मा आयोजना गरेको ‘सगरमाथा संवाद’ को दोस्रो संस्करण आगामी वर्ष आयोजना गर्ने तयारी रहेको जानकारी दिँदै उहाँले ‘सगरमाथादेखि समुद्रसम्म’ लाई ज्ञान, साझेदारी र व्यावहारिक सहकार्यको मञ्चका रूपमा विकास गर्ने बताउनुभयो ।