NIMB Long Banner Ad

दबाब र प्रभावमा नपरी काम गर्न प्रहरी निरीक्षकलाई प्रधानमन्त्री शाहको आग्रह

प्रहरी सेवामा नैतिकता, निष्ठा र जवाफदेहितालाई प्राथमिकता दिन आग्रह

1.13K
shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी प्रयोग गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले प्रहरी सेवालाई प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो।

प्रविधिको सही प्रयोगबाट अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै प्रधानमन्त्री शाहले अनुसन्धानलाई समयानुकूल र परिणाममुखी बनाउन सरकार आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले प्रहरी सेवामा नैतिकता, निष्ठा, इमानदारी र अनुशासनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। संविधान र प्रचलित कानुनको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न उहाँले निर्देशन दिनुभयो।

प्रधानमन्त्री शाहले तालिम पूरा गरी सेवामा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई प्रशिक्षणमा सिकेका ज्ञान, सीप र अनुशासन व्यवहारमा उतार्न आग्रह गर्नुभयो। नागरिकको भावना र अपेक्षाअनुसार सेवा प्रवाह गर्दै प्रहरीप्रति जनविश्वास बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

दीक्षान्त समारोहमा उहाँले तालिम सफलतापूर्वक पूरा गर्ने प्रशिक्षार्थीलाई बधाई तथा शुभकामना दिँदै इमानदारी, निष्पक्षता र नागरिकप्रतिको उत्तरदायित्वलाई सधैँ प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।