जमुनाहा नाका हुँदै दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै, सुरक्षा निगरानी बढाइयो
वि.सं.२०८३ असोज २८ बुधवार ११:२१
shares

नेपालगन्ज, असोज २८ गते । दसैँ सुरु भएसँगै भारतबाट नेपालगन्जस्थित जमुनाहा नाका हुँदै स्वदेश फर्किने नेपालीको सङ्ख्या बढेको छ । पछिल्ला केही दिनयता दैनिक करिब १० हजार नेपाली घर फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईका अनुसार गत सातासम्म दैनिक पाँचदेखि छ हजार नेपाली फर्किने गरेकामा अहिले सङ्ख्या बढेको हो । पछिल्ला छ दिनमा मात्रै ६० हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।
जमुनाहा नाका हुँदै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नेपाली घर फर्किने गरेका छन् । भारतको शिमलामा काम गरेर फर्किनुभएका दैलेखका सूर्यबहादुर विकले बाध्यताले रोजगारीका लागि विदेश जानुपरे पनि आफ्नै देश फर्किंदा खुसी लाग्ने बताउनुभयो ।
चाडपर्वका बेला यात्रुको सुरक्षा र सहजताका लागि जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।














