बुढीगण्डकी बाढीले गोरखाका करिब ५ हजार घरमा बिजुली अवरुद्ध
वि.सं.२०८३ असोज २८ बुधवार १७:४५
598
shares
shares

गोरखा, असोज २८ गते । बुढीगण्डकी नदीमा आएको बाढीले उत्तरी गोरखाका करिब पाँच हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
बाढीले चुमनुब्री गाउँपालिका–३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएपछि चुमनुब्रीका विभिन्न बस्तीका ९७१ घरधुरीमा विद्युत् अवरुद्ध भएको छ। बाढीले विद्युत्का १२ पोल, एउटा टावर र तार बगाएको आयोजनाका अध्यक्ष सुजन गुरुङले बताउनुभयो।
त्यस्तै, धार्चे गाउँपालिकाका सातवटै वडाका करिब चार हजार घरमा विद्युत् सेवा बन्द भएको छ। आरुघाट गाउँपालिकाको शान्तिबजार क्षेत्रका ५० घरधुरी पनि प्रभावित भएका छन्।
विद्युत् र इन्टरनेट अवरुद्ध हुँदा स्थानीयको जनजीवनसँगै सरकारी कार्यालयको कामकाजसमेत प्रभावित भएको छ। बाढीले सडक र पुल बगाउँदा एक गाउँबाट अर्को गाउँसम्म आवतजावत गर्नसमेत कठिन भएको स्थानीयले बताएका छन्।














