आज बडादसैँको पाँचौँ दिन, स्कन्दमाताको पूजाआराधना गरिँदै
वि.सं.२०८३ असोज २९ बिहीवार ११:०७
shares

काठमाडौँ, असोज २९ गते । बडादसैँको पाँचौँ दिन बिहीबार नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
भगवान् शिव र माता पार्वतीका पुत्र कार्तिकेय (स्कन्द) की माता भएकाले उहाँलाई स्कन्दमाता भनिएको हो । सिंहलाई वाहन बनाउनुभएकी देवी स्कन्दमाता कमलको आसनमा विराजमान हुनुहुन्छ । उहाँलाई ममतामयी र शान्त स्वरूपकी देवीका रूपमा पूजा गरिन्छ ।
पौराणिक कथाअनुसार तारकासुर नामक राक्षसको अत्याचारबाट देवताहरूलाई मुक्त गराउन शिव र पार्वतीका पुत्र स्कन्दको जन्म भएको थियो । पछि स्कन्दले देवताका सेनापति बनेर तारकासुरको वध गरेको धार्मिक मान्यता छ ।
स्कन्दमाताको पूजा गर्दा मनोकामना पूरा हुने, शान्ति प्राप्त हुने र सन्तान सुख मिल्ने धार्मिक विश्वास छ । उहाँको आराधनाले ज्ञान प्राप्त हुने पनि मान्यता रहेको छ ।
बडादसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ । यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ ।















