निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन
वि.सं.२०८३ कात्तिक १८ बुधवार १०:१५
shares

काठमाण्डौ । दुई हजार युवालाई लक्षित गरी सञ्चालन गर्न लागिएको निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीले आवेदन दिएका छन् ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘मास्टर्सिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ अनलाइन तालिममा अपेक्षाभन्दा धेरै आवेदन परेको हो ।
सुरुमा चार सत्रमा दुई हजारलाई मात्र तालिम दिने योजना रहे पनि आवेदनको चाप बढेपछि सबै आवेदकलाई सहभागी गराउने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ ।
सहभागीलाई कक्षा सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत लिंक पठाइनेछ । तालिम मोबाइल वा ल्यापटपबाट लिन सकिनेछ ।
तालिममा च्याटजीपीटी, क्लाउडलगायत एआई उपकरणको प्रयोग, प्रम्प्ट लेखन, इमेल तथा प्रस्तुति तयार गर्ने, तस्बिर र भिडियो बनाउने तथा एआईबाट प्राप्त जानकारीको सत्यता जाँच गर्ने विषय समेटिएका छन् ।















