सार्वजनिक पदलाई सेवाको अवसरका रूपमा लिन राष्ट्रपति पौडेलको आग्रह
वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:१३
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता र कानुनको शासन सुशासनका आधार भएको बताएका छन् ।
दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै बुधबार राष्ट्रपति पौडेलले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक पदलाई व्यक्तिगत सुविधा नभई जनताको सेवा गर्ने अवसरका रूपमा लिन आग्रह गरे ।
उनले तीनै तहका सरकारले जनताका अपेक्षा पूरा गर्न गम्भीर हुनुपर्ने बताए । प्रशासनिक भवन आधुनिक भएजस्तै सेवा प्रवाह पनि प्रविधिमैत्री, पारदर्शी, छिटोछरितो र नागरिकमैत्री हुनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले सूचना प्रविधिको प्रयोग, डिजिटल सेवा र गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उनले दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।















