नागढुंगा–नौबिसे सडक भासियो, पेट्रोलियम बोकेका गाडीलाई मात्रै अनुमति
वि.सं.२०८३ भदौ १७ बुधवार ०४:३१
shares

काठमाडौं । राजधानी भित्रिने मुख्य सडकखण्ड नागढुंगा–नौबिसे सडक भासिएपछि यातायात सञ्चालनमा समस्या आएको छ। नागढुंगा नजिकै पातले वन क्षेत्रमा सडक भासिएको धादिङ सडक डिभिजन कार्यालयले जनाएको छ।
सडक भासिएपछि उक्त खण्डमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको सडक विभागका इन्जिनियर अर्जुनप्रसाद अर्यालले जानकारी दिए।
उनका अनुसार हाल सडकको जोखिमलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई मात्रै उक्त रुटबाट सञ्चालन गर्न दिइएको छ। अन्य सवारीसाधनलाई वैकल्पिक मार्गका रूपमा सुरुङमार्गबाट पठाउने तयारी भइरहेको छ।
सडक विभागका अनुसार सडकको पर्खाल पुरानो भएकाले त्यसकै कारण सडक भासिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। तर सडक भासिनुको वास्तविक कारण भने प्राविधिक अध्ययनपछि मात्रै खुल्ने इन्जिनियर अर्यालले बताए।
‘सडकको वाल धेरै पुरानो थियो। पुरानै भएका कारण वाल भत्किएपछि सडक भासिएको हुन सक्छ। तर के कारणले सडक भासिएको भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै थाहा हुन्छ,’ उनले भने।
सडक भासिएको स्थानमा सडक विभागको प्राविधिक टोली पुगिसकेको छ। टोलीले सडकको अवस्थाबारे अध्ययन गरिरहेको र त्यसपछि आवश्यक मर्मत तथा यातायात व्यवस्थापनबारे निर्णय गरिने विभागले जनाएको छ।
नागढुंगा–नौबिसे सडक राजधानीलाई पृथ्वी राजमार्ग हुँदै देशका विभिन्न भागसँग जोड्ने प्रमुख मार्ग भएकाले सडक भासिएपछि यसको प्रत्यक्ष असर यातायात तथा आपूर्ति व्यवस्थामा पर्न सक्ने देखिएको छ।
















