केरुङ बन्द भएपछि हिल्सा र कोदारी हुँदै फर्किंदै कैलाशका पर्यटक, २ हजारभन्दा बढी नेपाल आए
वि.सं.२०८३ भदौ १७ बुधवार ०४:४६
shares

काठमाडौँ। भोटेकोशी बाढीका कारण रसुवाको केरुङ नाका अवरुद्ध भएपछि मानसरोवर–कैलाश दर्शन गरेर चीनमा रहेका पर्यटक नेपाल फर्किने वैकल्पिक मार्गका रूपमा हुम्लाको हिल्सा र सिन्धुपाल्चोकको कोदारी नाका प्रयोग गर्न थालेका छन्।
बाढीअघि केरुङ नाकाबाट चीन प्रवेश गरेका पर्यटक केरुङतर्फको यातायात सेवा अवरुद्ध भएपछि अन्य नाकाबाट नेपाल फर्कन थालेका हुन्। यससँगै पछिल्ला केही दिनमा कोदारी र हिल्सा नाकामा पर्यटकको आवागमन उल्लेख्य रूपमा बढेको अध्यागमन विभागले जनाएको छ।
अध्यागमन विभागका प्रवक्ता शिवप्रसाद लम्सालका अनुसार पछिल्लो पाँच दिनमा मात्रै कोदारी नाकाबाट १ हजार ८०१ पर्यटक तथा नेपाली ट्रेकिङ गाइड नेपाल प्रवेश गरेका छन्। सोही अवधिमा १९९ जना उक्त नाकाबाट बाहिरिएका छन्।
यस्तै, हिल्सा नाकाबाट पछिल्लो चार दिनमा ४३१ पर्यटक नेपाल प्रवेश गरेका छन्। हिल्सा हुँदै नेपाल फर्किनेमा अधिकांश भारतीय पर्यटक रहेको विभागले जनाएको छ।
केरुङ नाका पूर्ण रूपमा अवरुद्ध भएपछि कैलाश–मानसरोवर यात्रामा रहेका पर्यटकलाई वैकल्पिक मार्गबाट नेपाल फर्काउने व्यवस्था गरिएको हो। यसअघि निषेधित क्षेत्रका रूपमा रहेको हिल्सा नाका प्रयोग गर्न प्रवेशाज्ञा आवश्यक पर्ने भए पनि विशेष परिस्थितिलाई ध्यानमा राख्दै हाल एक साताका लागि शुल्क नलिने व्यवस्था गरिएको छ।
त्यस्तै, हिल्सा नाका प्रयोग गर्दा यसअघि सात जना पर्यटक बराबर एक जना पथप्रदर्शक अनिवार्य रहेको व्यवस्था पनि अस्थायी रूपमा हटाइएको विभागले जनाएको छ।
बाढी तथा पहिरोका कारण केरुङ नाका जोड्ने सडक र सीमावर्ती पूर्वाधारमा ठूलो क्षति पुगेपछि नियमित आवागमन प्रभावित भएको हो। त्यसपछि पर्यटकलाई सुरक्षित रूपमा नेपाल फर्काउन वैकल्पिक नाकाहरू सक्रिय पारिएका छन्।
५८३ पर्यटक अझै सम्पर्कमा छैनन्
यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित पर्यटकको खोजी तथा उद्धार कार्यसमेत जारी छ। नेपाल पर्यटन बोर्डका अनुसार बाढीका कारण अलपत्र परेका ३१५ पर्यटकको उद्धार भइसकेको छ भने ५८३ पर्यटक अझै सम्पर्कमा आएका छैनन्।
पर्यटक प्रहरी र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा प्राप्त विवरणअनुसार उद्धार गरिएकामध्ये सबैभन्दा धेरै १८७ जना भारतीय नागरिक छन्। चीनका ८९, माल्टाका चार तथा अन्य विभिन्न देशका पर्यटकको समेत उद्धार गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार हालसम्म १२ देशका पर्यटक उद्धार भएका छन्। यस क्रममा तीन स्पेनिस, एक अमेरिकी र एक बेल्जियमका नागरिक सोमबार अबेर सम्पर्कमा आएका छन्।
केरुङ नाका अवरुद्ध भएपछि एकातर्फ बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन पर्यटकको खोजी भइरहेको छ भने अर्कोतर्फ चीनमा रहेका कैलाश–मानसरोवर यात्रुलाई हिल्सा र कोदारी हुँदै नेपाल फर्काउने कामलाई तीव्रता दिइएको छ।

















