दाङमा एचआईभीको नयाँ संक्रमण घट्यो
उपचारको पहुँचमा ल्याउने क्रम बढ्नुले नयाँ संक्रमण घटाउन सहयोग
वि.सं.२०८३ भदौ १७ बुधवार ०४:५९
shares

घोराही। दाङमा एचआईभीको नयाँ संक्रमण पछिल्ला तीन आर्थिक वर्षमा निरन्तर घटेको छ। स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४२ जना नयाँ संक्रमित भेटिएकामा २०८१/८२ मा ३७ र २०८२/८३ मा ३१ जनामा झरेको छ।
तर नयाँ संक्रमण घटे पनि उपचारमा रहेका संक्रमितको संख्या भने बढ्दै गएको छ। आर्थिक वर्ष २०८०/८१ मा ४२९ जना एआरटी सेवामा रहेकामा २०८१/८२ मा ४५८ र २०८२/८३ मा ४८७ जना पुगेका छन्।
स्वास्थ्य कार्यालयका गजेन्द्र यादवका अनुसार नागरिकमा एचआईभीसम्बन्धी सचेतना बढ्नु, नियमित परीक्षण हुनु र संक्रमितलाई उपचारको पहुँचमा ल्याउने क्रम बढ्नुले नयाँ संक्रमण घटाउन सहयोग पुगेको हो।
दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालबाट एचआईभी परीक्षण तथा उपचार सेवा दिइँदै आएको छ।
पछिल्लो तीन वर्षमा १९ हजार ४८१ गर्भवती महिलाको एचआईभी परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यादवका अनुसार भारतमा रोजगारीका लागि जाने नागरिकमा एचआईभी संक्रमण बढी देखिने गरेको छ। नयाँ संक्रमण घटाउने उपलब्धिलाई कायम राख्न नियमित परीक्षण, समयमै उपचार र जनचेतना आवश्यक रहेको उनले बताए।

















