नेपालमा वर्षेनि झन्डै सय जनाको रेबिजका कारण मृत्यु हुने अनुमान
वि.सं.२०८३ असोज १२ सोमवार १९:०४
shares

काठमाण्डौ । नेपालमा गएको आर्थिक वर्षमा २ लाख २३ हजारभन्दा बढी जनावरको टोकाइका घटना दर्ता भएका छन्। तीमध्ये ९६ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित छन्। नेपालमा वर्षेनि झन्डै १०० जनाको रेबिजका कारण मृत्यु हुने अनुमान गरिएको छ।
विश्व रेबिज दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको जनाएको छ। रोकथाम गर्न सकिने भए पनि रेबिजका कारण नेपालसहित विश्वभर वर्षेनि हजारौँ मानिसको मृत्यु हुने गरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनले कुकुर, बिरालो वा अन्य सम्भावित सङ्क्रमित जनावरले टोकेमा वा चिथोरेमा तत्काल उपचारमा जान आग्रह गर्नुभएको छ।
उहाँका अनुसार घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ र ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर खोप लगाउनुपर्छ। घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य घरेलु पदार्थ लगाउन नहुने उहाँले बताउनुभयो।
नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। यसका लागि देशभरका २८६ केन्द्रबाट निःशुल्क रेबिज खोप सेवा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।
विश्वभर वर्षेनि अनुमानित ५८ हजार ९९० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ। मानवमा हुने रेबिजका झन्डै ९९ प्रतिशत घटना कुकुरसँग सम्बन्धित छन्।


















