NIMB Long Banner Ad

मानव कल्याण, खुसी र समृद्धिको सिद्धान्त PERMA मोडल

PERMA मोडलले जीवनलाई अर्थपूर्ण, सन्तुष्ट र खुसी बनाउनका लागि ५ वटा मुख्य तत्त्वहरू आवश्यक पर्छन् भन्ने कुरा प्रस्तुत गरेको छ । मानव कल्याण, खुसी र समृद्धि (Well-being & Flourishing) को एउटा प्रमुख सिद्धान्तको रुपमा PERMA मोडेललाई लिने गरिन्छ ।

1.27K
shares

सकारात्मक मनोविज्ञान (Positive Psychology) का जनक मार्टिन सेलिग्म्यान (Martin Seligman) द्वारा प्रतिपादन गरिएको मानव कल्याण, खुसी र समृद्धि (Well-being & Flourishing) को एउटा प्रमुख सिद्धान्तको रुपमा PERMA मोडेललाई लिने गरिन्छ ।

यो मोडलले जीवनलाई अर्थपूर्ण, सन्तुष्ट र खुसी बनाउनका लागि ५ वटा मुख्य तत्त्वहरू आवश्यक पर्छन् भन्ने कुरा प्रस्तुत गरेको छ । PERMA शब्द तिनै ५ तत्त्वहरूको अंग्रेजी पहिलो अक्षर मिलेर बनेको हो ।

PERMA का ५ तत्त्वहरू:
१. P – Positive Emotions (सकारात्मक भावनाहरू)
यसले आशा, खुसी, कृतज्ञता, आनन्द, र शान्ति जस्ता सकारात्मक भावनाहरू अनुभव गर्न सकियो भने जीवन सफल हुन्छ भन्ने मान्यता राख्दछ ।
यसले जीवनमा ऊर्जा थप गर्नुका साथै र तनाव कम गर्न मद्दत पुर्याउछ ।सकारात्मक भावनाहरूले मानिसको सोच्ने दायरा फराकिलो बनाउनुका साथै तनावसँग जुध्ने क्षमता (Resilience) अभिवृद्धि गर्छन्।

२. E – Engagement (संलग्नता वा लीन हुनु)

यसले कुनै काममा यति धेरै मग्न वा लीन हुनु कि समय बितेको नै थाह नहोस् (जसलाई मनोविज्ञानमा Flow State भनिन्छ)।

यसको अर्थ के भने जब मानिस आफ्नो रुचि वा कौशल अनुसारको काममा पूर्ण रूपमा डुब्छ, उसले गहिरो सन्तुष्टि पाउँछ।

३. R – Relationships (सकारात्मक सम्बन्धहरू)
यसले परिवार, साथीभाइ र समाजसँग गहिरो, विश्वासिलो र सहयोगी सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउछ ।
मानिस एक सामाजिक प्राणी भएकाले अरूसँगको सम्बन्धले सुरक्षित र मायालु महसुस गराउँन सहयोग पुर्याउछ ।

४. M – Meaning (अर्थ वा उद्देश्य)
यसले आफ्नो जीवनको कुनै ठूलो उद्देश्य वा आफूभन्दा माथिल्लो/ठूलो उद्देश्यका लागि काम गर्ने प्रेरणा प्रदान गर्दछ । (जस्तै: समाजसेवा, अध्यात्म, वा कुनै आदर्शका लागि योगदान पुर्याउनु )।
यसले जीवनलाई दिशा र मूल्य प्रदान गर्न सहयोग पुर्याउछ ।

५. A – Accomplishment / Achievement (उपलब्धि)
जीवनमा लक्ष्यहरू निर्धारण गर्नु र तिनलाई हासिल गरेर सफलताको अनुभूति गर्नु यसको मुख्य काम हो ।साना वा ठूला लक्ष्य पूरा हुँदा आत्मबल र आत्म-सम्मान बढ्दछ।
यसरी हेर्दा PERMA मोडलका यी पाँचै तत्त्वहरू एक-अर्कासँग जोडिएका छन्। यदि कुनै व्यक्तिले आफ्नो जीवनमा यी पाँच कुराहरूलाई सन्तुलित रूपमा अगाडि बढाउन सक्यो भने उसले मानसिक रूपमा स्वस्थ र समृद्ध (Flourishing) जीवन बिताउन सक्छ भन्ने मान्यता मार्टिन सेलिग्म्यानको रहेको छ । प्रत्येक व्यक्तिले यी ५ तत्वहरूलाई फरक-फरक प्राथमिकता दिन सक्छन् किनभने कसैले ‘तल्लीनता र उपलब्धिबाट बढी सन्तुष्टि पाउन सक्छन् भने कसैले सम्बन्ध र अर्थबाट पाउने गर्दछन्।मापनयोग्य र व्यावहारिकको रुपमा हेरिने यो मोडेललाई सकारात्मक मनोविज्ञान, संस्थागत विकास, शिक्षा र व्यक्तिगत परामर्शका क्षेत्रमा मानिसको सन्तुष्टि र कल्याण मापन गर्न कोशेढुङ्गा साबित हुने देखिन्छ ।
✍️लेखक कलानिधी धर्म,ज्योतिष र मनोविज्ञानको क्षेत्रमा अनुसन्धानरत हुनुहुन्छ।