विपद् प्रभावित बालबालिकाका लागि ‘स्याहार योजना’ लागू
वि.सं.२०८३ असोज ५ सोमवार ११:२५
273
shares
shares

काठमाडौँ। विपद्का कारण परिवारबाट छुटेका, अभिभावक वा संरक्षकविहीन भएका तथा विशेष संरक्षण आवश्यक परेका बालबालिकाको सुरक्षा र संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ।
योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। राष्ट्रिय बाल अधिकार परिषद्ले सञ्चालन गरेको केन्द्रमा विपद् प्रभावित बालबालिकालाई सुरक्षित आवास, खानपान, स्वास्थ्य उपचार र मनोसामाजिक सहयोग उपलब्ध गराइनेछ।
केन्द्रले बालबालिकाको पारिवारिक अवस्था पहिचान गरी परिवार वा आफन्तको खोजीसमेत गर्नेछ। सम्भव भएसम्म परिवार वा उपयुक्त आफन्तसँग सुरक्षित पुनर्मिलन गराइने र त्यो सम्भव नभए मात्र कानुन तथा मापदण्डअनुसार दीर्घकालीन संरक्षणको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।















