माथिल्लो त्रिशूली–१ बाट अहिलेसम्म ३७ शव निकालियो
वि.सं.२०८३ असोज ५ सोमवार १०:४७
520
shares
shares

काठमाडौँ। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट थप १३ वटा शव निकालिएसँगै बाढीपछि निकालिएका शवको सङ्ख्या ३७ पुगेको छ ।
आइतबार नेपाली सेना र आयोजनाको संयुक्त उद्धार टोलीले अडिट–३ बाट थप १३ शव निकालेको हो। सुरुङभित्र कंक्रिटिङका लागि तयार गरिएको रेबरको जालमा अल्झिएका तथा हिलोमा पुरिएका अवस्थामा शव फेला परेको कम्पनीले जनाएको छ।
निकालिएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्बा स्वास्थ्य परिसरमा राखिएको छ। सर्च डग र मिनी एक्स्काभेटरको प्रयोग गरी खोजी तथा उद्धार कार्य जारी रहेको कम्पनीले जनाएको छ।
गत भदौ १० गते आएको बाढीपछि आयोजनामा कार्यरत ४५८ जना सम्पर्कविहीन भएका थिए।
















