आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै
वि.सं.२०८३ असोज ३ शनिवार ०८:४०
shares

असोज ३ काठमाडौं । आज मुलुकभर संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै सरकारले प्रत्येक वर्ष असोज ३ गते राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको छ ।
तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते संविधान जारी भएको घोषणा गर्नुभएको थियो । संविधानले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशी र समानुपातिक व्यवस्थालाई संस्थागत गरेको छ । दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ ।
विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन् । संघ,प्रदेश र स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ ।
संविधान कार्यान्वयनका लागि आवश्यक केही कानुन निर्माण र बनेका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको विषय उठ्दै आएको छ । पछिल्लो समय संविधान संशोधनको बहससमेत चलिरहेको छ ।
















