NIMB Long Banner Ad

भारी वर्षाको जोखिम, पूर्वतयारीमा जुट्न ऊर्जामन्त्री र गृहमन्त्रीको निर्देशन

1.4K
shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले असोज ९ देखि ११ गतेसम्म पूर्वानुमान गरिएको अति भारी वर्षाबाट हुनसक्ने विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

मंगलबार गृहमन्त्री सुधन गुरुङसहित जल तथा मौसम विज्ञान विभाग पुगेका मन्त्री श्रेष्ठले सम्भावित जोखिमबारे जानकारी लिँदै प्रभावित क्षेत्रमा तत्काल सूचना प्रवाह गर्न र सबै निकायबीच उच्च समन्वयमा काम गर्न निर्देशन दिएका हुन् ।

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा तीनै तहका सरकार र सम्बन्धित निकायबीच समन्वय गरी पूर्वतयारी गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले कृषि, पर्यटन र यातायातलगायत सबै क्षेत्रलाई सतर्क रहन आग्रह गर्दै चाडपर्वका बेला यात्रा गर्नुअघि मौसम तथा सडक अवस्थाबारे जानकारी लिन अनुरोध गरे ।

गृहमन्त्री गुरुङले पनि सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको भन्दै सुरक्षा निकायलाई अलर्ट गरिएको, उद्धार सामग्री तयारी अवस्थामा राखिएको र स्थानीय तहबाट पूर्वसूचना प्रवाह भइरहेको जानकारी दिए । उनले जोखिमको अवधिमा ट्रेकिङ नगर्न र गइसकेकालाई सुरक्षित स्थानमा फर्किन आग्रह गरे ।