NIMB Long Banner Ad

पहिरोका कारण पृथ्वीराजमार्गसहित प्रमुख सडक अवरुद्ध, कहाँ कहाँ गयो पहिरो ?

सावधानी अपनाउन आग्रह

364
shares

काठमाडौं । लगातारको वर्षापछि विभिन्न ठाउँमा पहिरो खस्दा पृथ्वीराजमार्गसहित देशका प्रमुख सडक अवरुद्ध भएका छन्।

धादिङको कृष्णभीर, परेवाभीर र ज्यामिरेघाटमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको भए पनि सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पनि बन्द छ। चितवन प्रहरीले अर्को सूचना नआएसम्म सवारी आवागमन रोकिएको जनाएको छ।

यस्तै, काभ्रेको रोशी गाउँपालिका–७ चारसयबेँसी र वडा नम्बर ८ गिम्दीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। कान्तिलोकपथ पनि पहिरोका कारण पूर्ण रूपमा बन्द छ।

कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि हुङहुङ सडकखण्डसमेत अवरुद्ध भएको छ।

लगातारको वर्षाले पहिरोको जोखिम बढेपछि विभिन्न सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले दिउँसो सडक खुलेको अवस्थामा पनि बाढीपहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ।