वर्षा र बाढीपहिरोमा दुई जनाको मृत्यु, २९ सडक अवरुद्ध
वि.सं.२०८३ असोज १० शनिवार १८:५२
shares

काठमाडौँ — लगातारको वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण देशभर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र एक जना घाइते भएका छन्। पाँच घरमा क्षति पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङ र डोल्पामा एक–एक जनाको मृत्यु भएको हो। पाल्पामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता छन्।
वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पनि अवरुद्ध भएका छन्। शनिबार बिहानसम्म २९ वटा मुख्य सडकखण्ड प्रभावित भएको प्राधिकरणले जनाएको छ।
पृथ्वी राजमार्ग, कान्ति लोकपथ, बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मेची करिडोर, कर्णाली राजमार्ग, राप्ती राजमार्गलगायत सडकमा पहिरो तथा बाढीका कारण यातायात प्रभावित भएको छ।
अवरुद्ध सडक खुलाउन सडक विभाग र सुरक्षा निकायका टोली परिचालन भएका छन्। प्राधिकरणले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।
















