NIMB Long Banner Ad

नारायणीको डुबानबाट नवलपुरमा ४६१ जना सुरक्षित स्थानमा सारिए

1.75K
shares

नवलपुर, असोज ११ गते । तीन दिनदेखिको निरन्तर वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढेर बस्ती डुबानमा परेपछि नवलपुरमा ४६१ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

गैँडाकोट नगरपालिका–२ बोटे टोलमा डुबानमा परेका ११० घरधुरीका ४०० जनालाई प्रहरी र स्थानीयको सहयोगमा महेन्द्र आधारभूत विद्यालय तथा आफन्तको घरमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।

बोटे टोलबाट शनिबार ११४ जनालाई सुरक्षित स्थानमा सारिएको थियो। अहिले पनि घरका सरसामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ। हालसम्म मानवीय तथा चौपाया क्षति नभएको बताइएको छ।

यस्तै, मध्यविन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको भेल बस्तीमा पसेपछि १७ घरधुरीका ६१ जनालाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई नजिकैको लिटिल फ्लावर बोर्डिङ स्कुल तथा आफन्तको घरमा राखिएको प्रहरीले जनाएको छ।

तीन दिनदेखिको निरन्तर वर्षाका कारण नारायणी नदीको जलसतह खतराको तह पार गरेर उच्च तहमा पुगेको छ। चितवनको देवघाट जलमापन केन्द्रमा पानीको सतह १०.८९४ मिटर पुगेको छ।

देवघाटमा नारायणीको ७.३ मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानिन्छ।