NIMB Long Banner Ad

टुँडिखेलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

143
shares

काठमाडौँ, असोज १७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा उद्घाटन हुँदैछ । ‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ नारासहित हुन लागेको महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ ।

सभापति गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रममा कांग्रेसका शीर्ष नेतासहित प्रमुख राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नेछन् । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै भावी नीति र सङ्गठनात्मक दिशाबारे निर्णय गर्नेछ ।

महाधिवेशनमा ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक, पेसागत समूह तथा विदेशमा रहेका नेपालीलाई पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर दिने तयारी गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

आइतबार उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नेछन् । प्रतिवेदनमाथि तीनवटा हलमा छलफल गरिनेछ ।

निर्वाचन समितिले असोज १९ गते दिउँसो २ देखि साँझ ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको समय तोकेको छ । महाधिवेशन प्रतिनिधिको दर्ता सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भइसकेको छ । दर्ताका लागि प्रत्येक प्रतिनिधिले तीन हजार पाँच सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको टुँडिखेलमा महाधिवेशन हुन लागेको हो । कांग्रेसले यस महाधिवेशनलाई पार्टीमा विधि र पद्धति स्थापित गर्दै बिपी विचारलाई मुलुकको समृद्धिसँग जोड्ने अवसरका रूपमा अघि सारेको छ ।