NIMB Long Banner Ad

काठमाडौं महानगरका चिठी अब हुलाकबाट, अत्यावश्यक पत्र उही दिन पुग्ने

208
shares

काठमाडौँ, असोज १७ । काठमाडौँ महानगरपालिकाले पत्र, प्रतिवेदन, निमन्त्रणा तथा पार्सल पठाउन गोश्वारा हुलाक कार्यालयसँग सम्झौता गरेको छ । सम्झौताअनुसार महानगर क्षेत्रभित्रका बढीमा दुई किलोसम्मका अत्यावश्यक हुलाक वस्तु उही दिन वितरण गरिनेछ ।

महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्लेका अनुसार विभिन्न विभाग तथा आयोजनाबाट चलानी हुने पत्र केन्द्रीय सम्पर्क एकाइमार्फत सङ्कलन गरी हुलाक कार्यालयबाट पठाइनेछ ।

रजिस्ट्री तथा पार्सल अर्को दिन वितरण गरिनेछ भने काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा पठाइने पत्र पनि निर्धारित व्यवस्थाअनुसार पुर्‍याइनेछ । अन्य जिल्लामा भने नियमित हुलाक तालिकाअनुसार सेवा सञ्चालन हुनेछ ।

हुलाक कार्यालयले वितरणको भर्पाइ महानगरलाई उपलब्ध गराउनेछ । वितरण हुन नसकेका वा प्राप्तकर्ताले बुझ्न नमानेका हुलाक वस्तु महानगरको सम्पर्क एकाइमा फिर्ता गरिनेछ । यो सम्झौता एक वर्षका लागि गरिएको हो ।