चिनी भनेर युरिया मल खाँदा मनहरीमा सात जना बिरामी
वि.सं.२०८३ असोज १८ आइतवार १३:५६
65
shares
shares

हेटौँडा । मकवानपुरको मनहरीमा चिनी ठानेर युरिया मल खाँदा सात जना बिरामी भएका छन्। मनहरी गाउँपालिका–८ सिमपानीमा शनिबार साँझ अमिलो खाने क्रममा युरिया मल प्रयोग गर्दा उनीहरू बिरामी भएका हुन्।
प्रहरीका अनुसार सुरुमा तीन बालिकाले चिनी ठानेर युरिया मल खाएका थिए। त्यसपछि अन्यले पनि अमिलोसँगै उक्त मल खाएका थिए।
बिरामी हुनेमा पाँचदेखि ४२ वर्ष उमेर समूहका तीन बालबालिकासहित सात जना छन्। उनीहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार उपचाररत सबैको अवस्था सामान्य छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















