NIMB Long Banner Ad

अत्यधिक वर्षापछि स्पेनमा बाढीको जोखिम, यात्रामा प्रतिबन्ध

377
shares

म्याड्रिड । अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन्। कातालोनियाका २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म प्रतिबन्ध लागू गरिएको छ।

भारी वर्षाको पूर्वानुमानसँगै अधिकांश यात्रुवाहक तथा क्षेत्रीय रेल सेवा स्थगित गरिएको छ। केही क्षेत्रमा तीन घण्टामै ९० मिलिमिटरभन्दा बढी र २४ घण्टामा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्ले चेतावनी दिएका छन्।

यसैबीच, मध्य–पूर्वी स्पेनको अल्बासेते प्रान्तमा आकस्मिक बाढीमा १०२ वर्षीया एक महिलाको मृत्यु भएको छ। माद्रिगेरासमा करिब दुई घण्टामा प्रतिवर्गमिटर १४० मिलिमिटरभन्दा बढी वर्षा भएपछि आएको बाढीमा करिब ९० जनालाई सुरक्षित स्थानमा सारिएको थियो।

बाढीका कारण घर, सवारीसाधन र सार्वजनिक संरचनामा क्षति पुगेको छ। प्रभावित स्वास्थ्य केन्द्रमा सेवा सञ्चालन गर्न नसकेपछि रेडक्रसको परिसरबाट अस्थायी रूपमा स्वास्थ्य सेवा सञ्चालन गरिएको छ।