कांग्रेसले इतिहासका उपलब्धि र कमजोरीबाट पाठ सिक्नुपर्छ : रवि लामिछाने
हामीले काम गर्न सकेनौँ भने डाँडो कटाउनुस् भनेकै छौँ
वि.सं.२०८३ असोज १८ आइतवार १८:२१
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको लामो राजनीतिक इतिहास नै उसको शक्ति र कमजोरी दुवै भएको बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहासका उपलब्धि र कमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए।
लामिछानेले आफू सत्तापक्षमा भए पनि मञ्चमा एक्लो प्रतिपक्षीजस्तो देखिएको टिप्पणी गरे। उनले भने, ‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई।’
उनले कांग्रेसले लोकतन्त्र स्थापना र राजनीतिक परिवर्तनमा पुर्याएको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई समयमै नेतृत्व र अवसर दिनुपर्ने बताए। कांग्रेसले नयाँ पुस्तालाई अवसर दिएको भए आफू पनि त्यही पार्टीमा हुन सक्ने संकेतसमेत गरे।
राजनीति भाषण र घोषणापत्रमा मात्रै सीमित हुन नहुने भन्दै लामिछानेले जनताले काम र परिणाम खोजिरहेको बताए। सरकारले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई हटाउन सक्ने उनको भनाइ थियो। ‘हामीले काम गर्न सकेनौँ भने हामीलाई डाँडो कटाउनुस् भनेकै छौँ,’ उनले भने।
राष्ट्रिय हितका विषयमा दल र झन्डाभन्दा मुलुक महत्त्वपूर्ण हुने बताउँदै उनले सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। लोकतन्त्रका मूल्य र मान्यताको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ थियो।















