कोरला नाका बाह्रै महिना सञ्चालन गर्न चीनले सघाउने
वि.सं.२०८३ असोज १९ सोमवार ०८:१४
shares

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले कोरला नाकालाई बाह्रै महिना सञ्चालन गर्न तथा व्यापार र आवतजावत सहज बनाउन चीनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
बाढीपहिरोका कारण बेनी–जोमसोम–कोरला सडक अवरुद्ध हुँदा चीनसँगको आयात–निर्यात प्रभावित भएको र एक सयभन्दा बढी कन्टेनर भन्सार क्षेत्रमा रोकिएका बेला चिनियाँ राजदूतले नाकाको स्थलगत अनुगमन गर्नुभएको हो।
राजदूत माओमिङले आइतबार मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित सुरक्षा अधिकारीसँग भेट गरी रोकिएका सामानको ढुवानी सहज बनाउने, नाकाको व्यवस्थापन सुधार गर्ने तथा सुरक्षा समन्वय बढाउने विषयमा चासो राख्नुभएको थियो।
भन्सार प्रमुख विदुर चुडालका अनुसार चिनियाँ पक्षले कोरला नाका वर्षभरि चौबिसै घण्टा सञ्चालन गर्न सकिने सम्भावना, आवश्यक पूर्वाधार र चुनौतीबारे जानकारी लिएको छ।
दसैँ, तिहार र छठ नजिकिँदै गर्दा सडक अवरुद्ध भएपछि विद्युतीय सवारीसाधन, लत्ताकपडा तथा विद्युतीय सामग्री बोकेका कन्टेनर रोकिएका छन्। चिनियाँ पक्षले सडक सञ्चालन र सामानको ढुवानी सहज बनाउने विषयलाई प्राथमिकतामा राखेको सुरक्षा अधिकारीले बताएका छन्।
राजदूत माओमिङसहितको सात सदस्यीय टोली सोमबार कोरला नाका हुँदै तिब्बत फर्किने कार्यक्रम छ। टोलीको भ्रमणपछि नाकाको सञ्चालन तथा व्यवस्थापनबारे थप निर्णय हुने अपेक्षा गरिएको छ।
विसं २०८० कात्तिक २७ गते औपचारिक उद्घाटन गरिएको कोरला नाका विसं २०८२ भदौ ३० देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। कालीगण्डकी करिडोरले कोरला नाकालाई भारतको त्रिवेणी नाकासम्म जोड्छ।















