अझै आशा मारेका छैनौं, सुरुङको माथिल्लो भागबाट खनेर उद्धारको सम्भावना खोज्दैछौं : गृहमन्त्री गुरुङ
वि.सं.२०८३ भदौ १६ मंगलवार १३:०५
shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवामा बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले वैकल्पिक उपायको खोजी गर्न थालेको बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा रसुवा बाढीको अवस्थाबारे जानकारी दिँदै गृहमन्त्री गुरुङले सुरुङसम्म पुग्न माथिबाट ड्रिल गर्ने विकल्पमा राज्यले काम गरिरहेको बताए।
‘माथिको ठाउँबाट पनि खनेर, बरु त्यसलाई ड्रिल गरेर केही गर्न सक्यौं भने केही सम्भावना छ कि भनेर राज्यले प्रयास गरिरहेको छ,’ उनले भने।
उनले उद्धारमा कठिनाइ भए पनि सरकारले आशा नत्यागेको बताए। सुरुङभित्र फसेका व्यक्तिहरू अझै जीवित रहेको सम्भावनालाई ध्यानमा राखेर सुरक्षा संयन्त्र परिचालन भइरहेको उनको भनाइ छ।
‘अझै पनि हामीले होप लुज गरेका छैनौं,’ गृहमन्त्री गुरुङले भने, ‘माथिबाट पनि छिर्न सकिन्छ कि, उहाँहरू त्यहाँको नै पानी खाएर बस्नुभएको छ कि भन्ने पनि लागेको छ।’
उनका अनुसार उद्धारका लागि सुरक्षा संयन्त्र अझै घटनास्थलमा सक्रिय रूपमा परिचालित छ।
















