रसुवा बाढी प्रभावितका लागि सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दिने
वि.सं.२०८३ भदौ १६ मंगलवार १३:३१
shares

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सभामुख डोलप्रसाद अर्यालले आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका छन्।
सभामुख अर्यालले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
सभामुख सचिवालयका अनुसार विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिनेछ।
यस्तै, सङ्घीय संसद् सचिवालयमा कार्यरत कर्मचारीको पारिश्रमिकबाट समेत सरकारको निर्णयअनुसार श्रेणीगत रूपमा रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।
सभामुख सचिवालयले विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नु सबैको साझा दायित्व भएको जनाएको छ।
रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उद्धार तथा राहतका लागि सरकारी संयन्त्रसँगै विभिन्न तह र क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ।
















