NIMB Long Banner Ad

भोटेकोशी बाढीमा २३३ विद्यार्थीसहित १६ जना शिक्षक बेपत्ता, १७ जनालाई बगाएको पुष्टि

निलकण्ठ माविका मात्रै २०० विद्यार्थी सम्पर्कविहीन

91
shares

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विद्यालयमा अध्ययनरत सयौँ विद्यार्थी तथा शिक्षक प्रभावित भएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार तीन जिल्लाका २३३ विद्यार्थी बेपत्ता छन् भने १७ जनालाई बाढीले बगाएको पुष्टि भएको छ। बाढीमा परेर १६ जना शिक्षकसमेत बेपत्ता रहेको मन्त्रालयले जनाएको छ।

खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले प्रभावित तथा बेपत्ता विद्यार्थी र शिक्षकको सङ्ख्या बढ्न सक्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणअनुसार रसुवाको निलकण्ठ माध्यमिक विद्यालयमा सबैभन्दा ठूलो मानवीय क्षति भएको छ। उक्त विद्यालयका २०० विद्यार्थी र चार जना शिक्षक बेपत्ता छन्।

रसुवाकै कोमीस्यामे वाङ्फेल माध्यमिक विद्यालयका १६ विद्यार्थीलाई बाढीले बगाएको पुष्टि भएको छ। सोही विद्यालयका एक जना शिक्षकसमेत बेपत्ता छन्।

यस्तै, नुवाकोटको चण्डेश्वरी माध्यमिक विद्यालयका १२ विद्यार्थी बेपत्ता छन् भने एक जना विद्यार्थीलाई बाढीले बगाएको मन्त्रालयले जनाएको छ।

रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका छ जना शिक्षक र चिप्लेटी आधारभूत विद्यालयका चार विद्यार्थी बेपत्ता छन्। नव विजय माध्यमिक विद्यालयका दुई जना शिक्षकसमेत बाढीपछि सम्पर्कविहीन छन्।

त्यसैगरी, रसुवाकै हाइल्याण्ड सेकेण्डरी स्कुलका छ विद्यार्थी र गोसाईंकुण्ड अंग्रेजी बोर्डिङ स्कुलका नौ विद्यार्थी बाढीमा परेर बेपत्ता भएका छन्।

धादिङमा देउराली माध्यमिक विद्यालय, पाल्पा सामरी भन्ज्याङ माध्यमिक विद्यालय र पशुपति माध्यमिक विद्यालयका एक–एक जना शिक्षक बेपत्ता छन्। धादिङकै न्यू किबो बोर्डिङ स्कुलका एक जना विद्यार्थी पनि हराइरहेको मन्त्रालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेकाले विद्यालयसँग सम्बन्धित थप क्षतिको विवरण संकलन भइरहेको मन्त्रालयले जनाएको छ।