NIMB Long Banner Ad

भोटेकोशी बाढीमा हालसम्म एक हजार १२७ शव फेला, ९११ शवको पहिचान खुल्न बाँकी

४ हजार ८५८ जना अझै बेपत्ता

78
shares

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म एक हजार १२७ जनाको शव फेला परेको छ। प्रहरीले बुधबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट ६ हजार ५४१ जनाको उद्धार गरिएको जनाएको छ।

प्रहरीका अनुसार बाढीपछि हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ। तीमध्ये सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा मात्रै ३४८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० शव फेला परेका छन्।

यस्तै, नुवाकोटमा १५५, गोरखामा ६६, धादिङमा ५९, रसुवामा ४५ र तनहुँमा ३८ शव फेला परेको प्रहरीले जनाएको छ। भारतमा समेत नौ जनाको शव फेला परेको विवरणमा उल्लेख छ।

फेला परेका शवमध्ये १ हजार ११३ वटाको लाशजाँच मुचुल्का सम्पन्न भइसकेको छ। त्यसमध्ये ९५ शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

तर ठूलो संख्यामा शवको पहिचान हुन बाँकी छ। प्रहरीले पहिचान खुल्न नसकेका ९११ शवको विवरण वेबसाइटमा सार्वजनिक गरेको छ। आफन्तजनले उक्त विवरणका आधारमा बेपत्ता परिवारका सदस्यको खोजी तथा पहिचान गर्न सक्नेछन्।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै ४ हजार ८५८ जना बेपत्ता छन्। उनीहरूको खोजीका लागि सुरक्षा निकायले विभिन्न स्थानमा अभियान सञ्चालन गरिरहेको छ।

उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रहरी टोलीले बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी तथा अन्य निकायसँगको समन्वयमा खोजी र उद्धारलाई निरन्तरता दिएको छ।

बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत विभिन्न स्थानमा भइरहेको प्रहरीले जनाएको छ।

बेपत्ताको संख्या ठूलो रहेकाले उद्धारसँगै सम्पर्कविहीन व्यक्तिको खोजी, शवको पहिचान र परिवारसँग पुनर्मिलन गराउने काम अहिलेको प्रमुख चुनौती बनेको छ।