NIMB Long Banner Ad

पृथ्वी राजमार्ग बन्द भएपछि ट्रकमा भरिएर आउन थाल्यो उपत्यकाको ग्यास

143
shares

काठमाडौँ। पृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योगीले वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन्।

आइतबार कृष्णभिरमा सडक भत्किएपछि उपत्यका जोड्ने प्रमुख सडक बन्द हुँदा ग्यासका बुलेट उपत्यका भित्रिन सकेका छैनन्। त्यसपछि उद्योगीले त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे–पालुङ–नौबिसे हुँदै ट्रकमा ग्यासका सिलिन्डर ल्याउन थालेका हुन्।

एलपी ग्यास उद्योग सङ्घ नेपालका अनुसार एभरेस्ट र सुगम ग्यास मंगलबारदेखि नै वैकल्पिक मार्ग हुँदै उपत्यका भित्रिन थालेका छन्। सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठले बजारमा ग्यासको अभाव हुन नदिन बाहिरी जिल्लाका उद्योगबाट ग्यास भरेर ट्रकमार्फत ल्याउन थालिएको जानकारी दिनुभयो।

उद्योगीले उपत्यकाबाट खाली सिलिन्डर ट्रकमा राखेर चितवन, नवलपरासी, बारा, पर्सा र मकवानपुरस्थित ग्यास उद्योगमा पुर्‍याउने र त्यहाँ ग्यास भरेर पुनः उपत्यका ल्याउने व्यवस्था मिलाएका छन्।

सामान्य अवस्थामा बुलेटमार्फत ठूलो परिमाणमा ग्यास ल्याउन सहज हुने भए पनि राजमार्ग अवरुद्ध भएपछि ट्रकमार्फत सिलिन्डर ओसार्नुपर्ने अवस्था आएको उद्योगीको भनाइ छ।

श्रेष्ठका अनुसार ट्रकमार्फत ग्यास ल्याउँदा वैकल्पिक सडकमा हुने जामका कारण समय बढी लाग्ने गरेको छ। त्यसले नियमित आपूर्तिमा चुनौती थपिए पनि विपत्का समयमा बजारमा ग्यासको आपूर्ति निरन्तर राख्न वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो।

उपत्यका आसपासका धादिङ, काठमाडौँ र काभ्रेमा रहेका १८ ग्यास उद्योगबाट रिफिलिङ गरी बजारमा ग्यास पठाइँदै आएको थियो। पृथ्वी राजमार्ग बन्द भएपछि ती उद्योगसम्म ग्यासका बुलेट पुग्न नसकेकाले बाहिरी जिल्लामा रहेका प्लान्टबाट ग्यास भरेर ल्याउने व्यवस्था मिलाइएको हो।

यसैबीच, नेपाल आयल निगमले पनि राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात तथा आपूर्ति व्यवस्थालाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रमुख आपूर्ति मार्ग अवरुद्ध भएपछि उद्योगीले वैकल्पिक बाटो रोज्दै ग्यासको आपूर्ति कायम राख्ने प्रयास गरिरहेका छन्। सडक अवरोध लामो समय रहेमा भने ढुवानी समय र लागत बढ्न सक्ने देखिएको छ।