NIMB Long Banner Ad

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि फिदिम र झापा ११ भिड्दै

208
shares

ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाउन बुधबार फिदिम स्पोर्टिङ क्लब र झापा ११ एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुने दोस्रो सेमिफाइनल खेल दिउँसो ३ बजे सुरु हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ। बुधबारको खेल जित्ने टोलीले उपाधिका लागि फाइनलमा साविक विजेता सिराहाको सलहेस युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

फिदिम स्पोर्टिङ क्लब क्वार्टरफाइनलमा काठमाडौँको चित्लाङ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो। यता झापा ११ ले नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार दुवै टोलीका लागि बुधबारको खेल फाइनल प्रवेश गर्ने महत्वपूर्ण अवसर हो। प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको उनले बताए।

यसअघि मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा सलहेस युथ क्लबले भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। सलहेस प्रतियोगिताको साविक विजेतासमेत हो।

प्रतियोगिताको फाइनल भदौ १९ गते हुनेछ। उपाधि विजेताले सात लाख दुई हजार ८३ रुपियाँ तथा उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ। टिकट काटेर खेल हेर्ने दर्शकमध्ये भाग्यशाली एक जनाले टिभिएस कम्पनीको स्कुटरसमेत पाउनेछन्।

लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगितामा आठ टोली सहभागी छन्। भदौ १२ गतेदेखि सुरु भएको प्रतियोगिता फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ।