NIMB Long Banner Ad

कृष्णभीरमा सडक भासिएपछि ग्यास आपूर्तिको नयाँ उपाय, राजधानी बाहिरै सिलिन्डर भरिँदै

1.75K
shares

चितवन। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएर ग्यास बोकेका बुलेट काठमाडौँसम्म पुग्न नसकेपछि ग्यास उद्योगहरूले आपूर्ति व्यवस्थापनको नयाँ उपाय अपनाएका छन् । राजधानीमा ग्यासको अभाव हुन नदिन काठमाडौँ तथा आसपासका उद्योगका सिलिन्डर राजधानी बाहिरका उद्योगमा भरेर वैकल्पिक मार्ग हुँदै पठाउन थालिएको हो ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका उद्योगसँग समन्वय गरेर सिलिन्डर भर्ने व्यवस्था मिलाएका छन् ।

चितवनको बाबा ग्यासले मंगलबार मात्रै श्री ग्यासका एक हजार ५०० सिलिन्डर भरेर पठाएको सञ्चालक विमल कालाखेतीले जानकारी दिनुभयो । चितवनकै साइबाबाले आफ्ना ९०० सिलिन्डर काठमाडौँ पठाएको छ ।

त्यस्तै नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका एक हजार २०० सिलिन्डर भरेर पठाएको छ । गैँडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यासका सिलिन्डर भर्ने गरिएको छ भने हेटौँडाको साहारा ग्यासमा काठमाडौँका एभरेष्ट र सुगम ग्यासका सिलिन्डर भरेर पठाउन थालिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्याससमेत वीरगञ्जस्थित मनोज ग्यासमा भरेर राजधानीतर्फ पठाउने व्यवस्था मिलाइएको छ ।

कालाखेतीका अनुसार बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा लोकप्रिय, सुपर र तारा ग्यासलगायतका उद्योगले राजधानी बाहिरका विभिन्न उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौँ पठाउन थालेका छन् ।

उहाँका अनुसार सडक अवरोधका कारण ग्यास बोकेका बुलेट उद्योगसम्म पुर्‍याउन नसकिए पनि ग्यासको आयातमा भने कमी आएको छैन । त्यसैले एउटा उद्योगको बुलेट अर्को उद्योगसम्म पुर्‍याउन नसकिएको अवस्थामा उपलब्ध उद्योगबाट सिलिन्डर भरेर आपूर्ति निरन्तर राखिएको हो ।

“भारतबाट आउने ग्यास घटेको छैन । बुलेट पुर्‍याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत पठाइरहेका छन्,” कालाखेतीले भन्नुभयो, “त्यसैले ग्यासको अभाव हुने अवस्था छैन ।”

उनका अनुसार गत महिना भारतबाट नेपालमा ६० हजार २०० मेट्रिकटन ग्यास भित्रिएको थियो । हाल पनि सोही अनुपातमा ग्यास आइरहेकाले आपूर्तिमा तत्काल समस्या नहुने उनको भनाइ छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको बताए ।

उनका अनुसार उपत्यका र आसपासका क्षेत्रमा मात्रै कुल ग्यास खपतको करिब ४० प्रतिशत खपत हुन्छ । यही कारण सडक अवरोधका बीच पनि उपत्यकाको आपूर्ति नियमित राख्न उद्योगहरूले एकअर्कासँग समन्वय गरी वैकल्पिक व्यवस्थाबाट ग्यास पठाइरहेका छन् ।

सडक पूर्वाधारमा आएको अवरोधले ढुवानी प्रणाली प्रभावित भए पनि उद्योगहरूबीचको समन्वय र वैकल्पिक रुटको प्रयोगमार्फत काठमाडौँको ग्यास आपूर्ति भने निरन्तर राख्ने प्रयास भइरहेको छ ।