NIMB Long Banner Ad

बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत दिने निर्णय, दिवंगत प्रहरीका सन्ततिलाई निःशुल्क पढाउने

455
shares

काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहयोग गर्ने भएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रहरी समन्वय समितिको बैठकले प्रहरी कर्मचारीबाट संकलित राहत कोषबाट मृतक प्रहरीका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

बैठकले दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने तथा प्रभावित परिवारका एक जना इच्छुक सदस्यलाई सीपमूलक तालिम र रोजगारीका लागि पहल गर्ने निर्णयसमेत गरेको छ।

दिवंगत प्रहरीका सन्ततिलाई आधारभूत तहसम्म पायक पर्ने प्रहरी आवासीय विद्यालय तथा उच्च शिक्षाका लागि नेपाल प्रहरी आवासीय विद्यालय, साँगामा शिक्षण शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइने भएको छ।

बाढीमा बेपत्ता प्रहरी कर्मचारीको खोजीका लागि विशेषज्ञ टोली परिचालन गर्ने निर्णय गरिएको छ। हालसम्म तीन जना प्रहरीको शव फेला परेको र २५ जना सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तै, बाढी प्रभावित प्रहरी इकाइमा कार्यरत कर्मचारीको व्यक्तिगत सामग्री क्षति भएबापत जनही ५० हजार रुपैयाँ राहत दिने निर्णय गरिएको छ।

प्रधानमन्त्री राहत कोषमा ४० करोड
नेपाल प्रहरीले बाढी तथा विपद् प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ सहयोग गर्ने भएको छ। उक्त रकम पनि प्रहरी कर्मचारीबाट संकलन गरिएको राहत कोषबाट प्रदान गरिनेछ।

घाइते प्रहरीको उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै बैठकले बेपत्ता, दिवंगत तथा घाइते प्रहरीका परिवारलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउन एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकेको छ।