भोटेकोशी बाढीमा मृत्यु भएका सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत
वि.सं.२०८३ भदौ १९ शुक्रवार २०:३६
shares

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई राहत तथा विभिन्न सुविधा उपलब्ध गराउने निर्णय भएको छ।
बाढीमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १४ गरी ८४ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्।
सशस्त्र प्रहरीले ज्यान गुमाउने आफ्ना कर्मचारीका परिवारलाई सरकारी मापदण्डसहित २५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। मृतक कर्मचारीको कल्याण कोषको ऋण मिनाहा, सन्तानलाई कक्षा १० सम्म निःशुल्क अध्ययन र परिवारका एक सदस्यलाई सीपमूलक तालिम दिने व्यवस्था पनि गरिएको छ।
नेपाल प्रहरीले मृतक कर्मचारीका परिवारलाई नियमअनुसारको सुविधाबाहेक १० लाख रुपैयाँ थप राहत दिने भएको छ। साथै, कल्याण कोषको विशेष सापटी मिनाहा, एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि पहल र सन्ततिलाई नेपाल प्रहरी स्कुलमा निःशुल्क अध्ययनको व्यवस्था गरिनेछ।
यसैगरी, बाढीबाट ज्यान जोगाएका पाँच सशस्त्र प्रहरीलाई जनही ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिइनेछ।
भदौ १८ गतेको मन्त्रिपरिषद् बैठकले खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी तथा राष्ट्रसेवकलाई जोखिम भत्ता, खाजा खर्च र निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। उद्धारका क्रममा मृत्यु भए परिवारलाई १० लाख रुपैयाँ राहत दिइनेछ।
नेपाली सेनाले भने आफ्ना कर्मचारीका लागि राहतसम्बन्धी निर्णय गर्न बाँकी छ।
















