भोटेकोशी बाढी : चितवनमा भेटिएका शवको डीएनए परीक्षण, ३६२ शवमध्ये ३३३ को व्यवस्थापन
वि.सं.२०८३ भदौ २१ आइतवार ०९:५५
shares

नारायणगढ । भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको पहिचान गर्ने कामलाई प्रहरीले तीव्रता दिएको छ। शवको पहिचानका लागि आफन्तबाट डीएनए नमूना संकलन भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार अहिलेसम्म जिल्लाका विभिन्न स्थानमा ३६२ शव फेला परेका छन्। तीमध्ये ३३३ शवको व्यवस्थापन भइसकेको छ भने १४ शवको पहिचान गरी आफन्तलाई बुझाइएको छ।
हराइरहेका व्यक्तिको पहिचानमा सहज होस् भनेर प्रहरीले भदौ १६ गतेदेखि आफन्तको डीएनए नमूना लिन थालेको हो। भदौ २० गतेसम्म ६८ जना आफन्तबाट नमूना संकलन भइसकेको यादवले जानकारी दिनुभयो।
प्रहरीका अनुसार संकलित नमूनामा महिला, पुरुष र बालबालिकासहित भारतीय नागरिकका आफन्तसमेत छन्। यी नमूनालाई फेला परेका शवबाट लिइएका नमूनासँग परीक्षण गरी पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ।
बाढीपछि हराइरहेका व्यक्तिको खोजी, शवको पहिचान, आफन्तबाट विवरण संकलन तथा सम्बन्धित निकायसँग समन्वय गर्ने काम पनि निरन्तर भइरहेको प्रहरीले जनाएको छ।
















