NIMB Long Banner Ad

वैकल्पिक बाटोबाट तीन दिनमै ८७ हजार ग्यास सिलिन्डर काठमाडौं भित्रियो

182
shares

काठमाडौं । धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक मार्ग प्रयोग गरिएको छ। त्यसक्रममा पछिल्ला तीन दिनमा ८७ हजार ८७७ वटा ग्यास सिलिन्डर काठमाडौं भित्रिएका छन्।

नेपाल आयल निगमका अनुसार १८ वटा ग्यास कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगबाट ग्यास भरेर वैकल्पिक सडक हुँदै उपत्यकामा ल्याएका हुन्।

भदौ १८ गते २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ सिलिन्डर काठमाडौं भित्रिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो।

भदौ १४ गते त्रिशूली नदीको कटानले कृष्णभीरमा सडक भासिएपछि इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटोमै रोकिएका थिए। त्यसपछि निगमले तराईका उद्योगबाट ग्यास सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो।

उपत्यकामा ग्यास अभाव हुन नदिन सार्वजनिक बिदाका दिनसमेत उद्योग सञ्चालन गरी सिलिन्डर भर्ने र ढुवानी गर्ने व्यवस्था मिलाउन निगमले सम्बन्धित उद्योगलाई निर्देशन दिएको जनाएको छ।